बुद्धशान्तिमा कृषकको अनुदान जनप्रतिनिधीले रातीनै घर लगे र समस्या भएपछि पुन फिर्ता ल्याए

बुद्धशान्ति गाउँपालिका वडा नम्बर–१ मा कृषकलाई आएको मकैको बिउ वितरणमा चरम भ्रष्टाचार भएको पाइएको छ । जनप्रतिनिधि कै नेतृत्वमा कृषकलाई आएको २ बोरा (६० केजी) मकैको बिऊ राती नै घर लगिएको र स्थानीयले थाहापाएपछि पुन फिर्ता ल्याइएको पाइएको हो ।
२ दिन बाँड्ने भनिएता पनि बाँड्न थालेको ३ घण्टामा नै मकैको बिउ सकिएको थियो तर सोही दिन राति बुद्धशान्ति–१ का वडा सदस्य तारावीर घिमिरेले आफ्नो मान्छे लगाई २ बोरा मकैको बिउ लाँदै गरेको स्थानीयले देखिएपछि त्यहाँ विवाद सिर्जना भएको थियो ।
वडाबाट मकैको बिऊ चोरी भएको थाहा पाएर तुरुन्तै वडा कार्यालय आएका बुद्धशान्ति–१ का वडाध्यक्ष भिमकुमार नेवारले आफूलाई यस विषयमा जानकारी नभएको बताए । मकैको बिऊ बाँड्ने क्रममा दिउँसो वडा सदस्य घिमिरेले बिऊ सबै बाँडि सकिएको जानकारी गराएपछि यस विषयमा थप चासो नदिएको वडाध्यक्ष नेवारले जनाए ।
दिउसो यस्तो भएको थियो ः
शनिबार बिहान ९ बजे देखि मकैको विऊ वितरण गर्न थालको अर्का वडा सदस्य टिका धिमालले जानकारी दिए । वडा सदस्य धिमालले कृषकको नाम टिपाउने र टोकन बाँड्ने, वडा सदस्य यमुना चापागाई र घिमिरे मकैको बिऊ बाँड्ने र वडाध्यक्ष नेवार त्यहाँ आएका कृषकको लाइनलाई व्यवस्थापन गर्ने कार्यमा खटिएका थिए । मकैको बिऊ वितरण गर्न थालिएको केही समयमानै घिमिरेले बिऊ सकिएको जानकारी दिए तर त्यतिबेला पनि मकैको बिऊ भने नसकिएको वडाध्यक्ष नेवारले बताएका छन् । सदस्य घिमिरेले जनप्रतिनिधी तथा कर्मचारीलाई भन्दै २ बोरा मकै राखेता पनि आफूँले १ गेडो नराखी सबै कृषकलाई बाँड्नु भनेपछि फेरी मकैको बिऊ बाँडिएको थियो वडाध्यक्षले भने । वडाध्यक्षको भनाइ अनुसार घिमिरेले ४ बोरा मकै राख्न खोजेको थिए तर २ बोरा बाहिर नै भएकोले त्यो बाँडिएको र पछि उनले भित्र राखेको २ बोरा भने राती घर लगेको बुझिएको छ ।
गल्ती स्वीकार्छु ः घिमिरे
यता मकै चोरीको आरोप लागेका वडा सदस्य घिमिरेले आफूहरुले गल्ती गरेको स्वीकारेका छन् । ‘कृषकलाई आएको मकैको बीऊ हामीले लानु गलत हो तर आफ्नो व्यक्तिगत स्वार्थका लागि नभएर त्यहाँ खटिने कर्मचारी तथा जनप्रतिनिधीकै लागि भनेर मकै लगिएको हो’ घिमिरेले भने । वडाध्यक्ष नेवारले सबै मकै सकिनेगरि नबाँड्नु आफूहरुलाई पनि केही राख्नु भनेका कारण मकै लगिएको उनले दाबी गरे । उनको यो भनाई भने वडाध्यक्ष संग ठ्याक्कै विपरित भएको पाइएको छ । बुद्धशान्ति साप्ताहिकसंगको कुराकानीमा वडाध्यक्षले आफूले एक गेडो नराखि बाड्नु भनेका थिए भनेर जनाए तर उनै वडाध्यक्षले आफहरुलाई पनि बिऊ राख्नु भनेको कारण यसो गरिएको सदस्य घिमिरेले आरोप लगाए । बुद्धशान्ति साप्ताहिकसंगको कुराकानीमा ‘खटिएर काम गर्ने व्यक्तिहरुलाई वडाकै केही साथीहरुले खुट्टा तान्ने प्रवृत्ति देखाएको र यो घटना पनि त्यही भएको भन्दै यसलाई सामान्य रुपमा लिन सदस्य घिमिरेले अनुरोध गरेका छन् ।’
बुद्धशान्ति १ मा समस्यै समस्या ः
यस अघि पनि किसानलाई आएको बिऊ विजन वडामा नै कुहाएर राखिएको विषयले बुद्धशान्ति वडा नम्बर १ निक्कै विवादममा आएको थियो । ५० प्रतिशत अनुदानमा आएको बिऊहरु कृषकलाई बाँड्नुको सट्टा स्टोरमा कुहाएर राखिएको विषयमा बुद्धशान्तिका स्थानीय सुनिल भट्टराईले त्यस्को खुलेरै विरोध गरेका थिए । त्यस्तै वडा कार्यालयले आफ्नो नजिकको मान्छेलाई मात्रै अनुदानका घाँस तथा बिउ विजन दिएको आरोप लगाउँदै स्थानीय एक जनताले बाँड्दै गरेको घाँसको बिउको बोरानै उठाएर लगिएको समेत पाइएको थियो । तत्कालिन अवस्थामा वडाले कृषकलाई गर्ने घाँसको बिऊ वितरण प्रणाली चित्त नबुझेको भन्दै बोरा नै उठाएका उनलाई त प्रहरी प्रशासन लगाएर कार्वाही गरिएको थियो अब कृषकलाई आएको बिऊ बाँडि नसकि सकियो भन्ने र राती राती चोरेर घर लाने जनप्रतिनिधीलाई के हुन्छ त्यो हेर्न बाँकी नै छ ।

जनताका काम गर्छु भनेर निर्वाचित भएका जनप्रतिनिधीले नै जनतालाई आएको अनुदानका बीउ विजन घर लानु पक्कै राम्रो होइन । आसेपासे, नातागोताका लागि मात्र सोच्ने जनप्रतिनिधीहरुले निष्पक्ष रुपमा काम गर्न सकेको खण्डमा मात्र देश विकासको गतिमा अघि बढ्ने देखिन्छ । यस तर्फ जनप्रतिनधीको ध्यान जानुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस्