नेविसंघले बुझायो बुद्धशान्ति गा.पालाई ध्यानाकर्षण पत्र

नेपाल विद्यार्थी संघ बुद्धशान्तिले आज बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

पछिल्लो केही महिना यता कोरोना भाइरसका कारण विश्वनै आक्रान्त भएको अवस्थामा नेपाल सरकार तथा स्थानीय तहहरुले यसको रोकथाम तथा नियन्त्रणमा ठोस कदम नचालेको विषयमा ध्यानाकर्षण पत्र बुझाइएको नेविसंघ बुद्धशान्तिका सचिव रोसन भट्टराईले बताए ।

कोरोना संक्रमित व्यक्तिहरु समेत उचित परामर्श तथा उपचारको अभावमा सडकमा खुलेआम हिँडिरहेको देखिने अवस्था आएकोले यसको नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरुले निशुल्क रुपमा पिसिआर परिक्षण गराउन समेत समस्या भएको परिस्थितीमा यसको सहज व्यवस्था मिलाउनु आजको अपरिहार्य आवश्यकता हो नेविसंघ बुद्धशान्तिका सभापति नरेश लावतीले भने । उनले विश्वका विभिन्न मुलुकहरुले कोरोना भाइरस विरुद्ध खोपको प्रयोग गरेको र सो खोप प्रभावकारी समेत रहेकोले उक्त खोपलाई नेपालमा पनि ल्याई उचित प्रयोग गर्न समेत अनुरोध गरेका छन् ।

स्थानीय स्तरबाट नै कोरोनाको रोकथाम गर्न सके राष्ट्रिय स्तरमा पनि यसको रोकथाम गर्न सकिने नेविसंघ झापा जिल्ला सदस्य तथा संचार विभाग प्रमुख गोकुल पौडेलले बताए । बुद्धशान्ति गाउँपालिकाले सुरुका दिनहरुमा दुस्तचुस्त रुपमा कोरोना नियन्त्रणमा लागेको थियो । तर पछिल्लो केही दिन यता कोरोना नियन्त्रण कार्यमा केही सुस्त रहेकाले प्रभावकारी रुपमा यसको नियन्त्रणमा लाग्न गाउँपालिकालाई अनुरोध गरेका छन् ।


ध्यानाकर्षण पत्रमा कोरोना आशंका भएका व्यक्तिहरुलाई प्रत्येक स्थानीय निकायका वडा कार्यालयहरुले स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि पठाउँदा कोरोना संक्रमितको पहिचान तथा यसको रोकथाममा सहज हुने भएकोले स्वाब संकलन गरि पिसिआर परिक्षणको दायरा बढाउन समेत अनुरोध गरिएको छ ।
बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा ध्यानाकषर्ण पत्र बुझाउने कार्यक्रममा जिल्ला सदस्य पौडेल, नेविसंघ बुद्धशान्तिका सभापति लावती, सचिव भट्टराई, कोषाध्यक्ष उमेश भट्टराई, सहसचिव राम भट्टराई, सक्रिय सदस्य सुरज पोखरेल, सुजन भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्