सीमाका अलपत्र नेपालीलाई मेची क्याम्पसको क्वारेन्टाइनमा राखिने

भारतीय सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीले प्रवेश पाउने भएका छन् । उनीहरुलाई राख्न झापामा छुट्टै क्वारेन्टाइन बनाइएको छ । जिल्ला बाहिरका बासिन्दालाई स्थानीय पालिकाले राख्न नमानेकाले उनीहरुका लागि मेची बहुमुखी क्याम्पसमा छुट्टै क्वारेन्टाइन बनाइएको हो ।

कोरोना संक्रमण रोकथाम जिल्ला अनुगमन तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले मेची बहुमुखी क्याम्पस भद्रपुरको विज्ञान संकायको भवनमा क्वारेन्टाइन निर्माण भइरहेको जानकारी दिए ।

‘भारतीय सीमा नजिक रहेका नेपालीलाई नेपाल आउने अनुमति प्राप्त हुन साथ त्यही ल्याएर राख्ने व्यवस्था गरेका छौँ’, उनले भने । नेपाली सेनाले व्यवस्थापन गर्ने गरी तयार गरिएको क्वारेन्टाइनमा एकसय वटा बेड क्षमताको हुनेछ ।

यसअघि सेनाकै व्यवस्थापनमा चन्द्रगढीस्थित कलबलगुडीमा ९२ बेडको क्वारेन्टाइन निर्माण गरिएको थियो । जसमा जिल्ला भन्दा बाहिरका व्यक्तिलाई पनि राखिएको छ । क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने कम्बल, झुल, तन्ना, माक्सलगायतका सामग्री नेपाल रेडक्रस सोसाइटी झापाले प्रदान गरेको छ ।

सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालले सोमबार प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । झापाका १५ वटा पालिकामा स्कूल, सामुदायिक वन, स्वास्थ्य चौकी लगायतमा ७ सय ९२ जना अटाउने २७ वटा क्वारेन्टाइन छन् ।

प्रतिकृया दिनुहोस्